Sajhakura Dainik - एककरोड ८५ लाखको टेण्डर नरोक्न मालेको चेतावनी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

एककरोड ८५ लाखको टेण्डर नरोक्न मालेको चेतावनी


अर्थ / व्यापार 23 पटक पढिएको




हेटौंडा, १९ असोज/ नेकपा माले मकवानपुरले हेटौंडा उपमहानगरपालिका भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ ।माले मकवानपुर सचिव तथा केन्द्रीय सदस्य भीमसेन महतले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिकामा भएको आर्थिक अपारदर्शिता तथा भ्रष्टाचारको विषयमा लामो समयदेखि आवाज उठाउँदै आएको उल्लेख गर्दै अझै पनि हेटौंडा उपमहानगरपालिकामा भ्रष्टाचार जारी रहेको आरोप लगाएका छन् ।
प्रेस विज्ञप्तिमा हेटौंडा–१०, बसपार्क क्षेत्रमा रहेको ढाटमा हेटौंडा उपमहानगरपालिका कार्यालयले उठाउँदै आएको पटके सवारी कर टेण्डरमार्फत् उठाउने भएपनि विभिन्न बहानामा टेण्डर स्वीकृत नगरेर फेरि भ्रष्टाचार गर्ने संकेत गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा जनाइए अनुसार बोलकबोल प्रथाद्वारा सबैभन्दा बढी बोल्ने १ करोड ८५ लाख ५० हजार बोल्नेवाला ठेकेदारलाई परी बोलपत्र स्वीकृत हुनुपर्नेमा लामो समय बित्दा पनि कार्यालयले नगरेको भन्दै मालेले यस्तो आरोप लगाएको हो ।
‘विगत २०५७ सालदेखि आर्थिक ऐन विपरीत अमानतमा पटके सवारी कर उठाउँदै आएको हेटौंडा उपमहानगरपालिकाले सुरुवातिक्रममा वार्षिक आम्दानी ३० लाखबाट क्रमिकरुपमा ६० लाखसम्म देखाउँदै आएको थियो । हामीले यसमा करोडौंको भ्रष्टाचार भएको पर्दाफास गरेपछि यसको आम्दानी बढेर १ करोड ७० लाखसम्म पुग्यो । तर, पनि अझै त्यस कार्यालयमा पटके सवारी करको भ्रष्टाचार भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘केहि समय अगाडि ठेक्का प्रणालीको लागि टेण्डर त आव्हान् गरियो तर, कुनैपनि ठेकदार व्यवसायीले बोलपत्र पेश गर्न नसक्ने प्रावधान राखेर षड्यन्त्र गरियो र असफल भयो । दोस्रो चरणमा पुनः टेण्डर आव्हान् गरेपछि बोलकबोल प्रथाद्वारा सबैभन्दा बढी बोल्ने १ करोड ८५ लाख ५० हजार बोल्नेवाला ठेकेदारलाई परी बोलपत्र स्वीकृतको प्रक्रियामा रहेको भएपनि ढिलाइ भइरहेको छ’, केन्द्रीय सदस्य तथा जिल्ला सचिव महतले भने ।
‘हामीले ती भ्रष्टचारी कर्मचारीको पहिचान गरिसकेका छौं । यदि तिनले जेसुकै बहानामा ठेक्का स्वीकृती हुनबाट नरोक्न चेतावनी दिन चाहन्छौं । यदि रोकीएमा भ्रष्टचारमा संलग्न कर्मचारीको नामसहित सार्वजनिकीकरण गर्दै सम्बन्धित निकायलाई कारबाहीको माग गर्दै अगाडि बढ्नेछौं’, विज्ञप्तिमा भनिएको छ ।



कमेन्टसहरु




2332574 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top