Sajhakura Dainik - खस्कियो मकवानपुर जिल्लाको निर्यात व्यापार
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
अर्थ / व्यापार

खस्कियो मकवानपुर जिल्लाको निर्यात व्यापार


अर्थ / व्यापार 25 पटक पढिएको




हेटौंडा, २९ माघ÷ मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापारमा पछिल्लो वर्ष भारी गिरावट आएको छ । यहाँ सञ्चालित राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले प्रयाप्त मात्रामा सामान उत्पादन गर्न नसक्दा व्यापार घटेको हो ।


विगतको वर्षमा भारत तथा तेस्रो मुलुकमा मकवानपुरले निर्यात व्यापारमा महत्वपूर्ण योगदान गरे पनि यस वर्षको पछिल्लो ६ महिनामा निर्यात व्यापार ६१ प्रतिशतले घटेको देखिएको छ । देशको आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभाव मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि परेको हो । नेपालबाट भारत तथा तेश्रो मुलुकमा हुने निर्यात व्यापार घटेसँगै नेपालको अन्य देशसँगको व्यापार घाटा बढ्दो छ । मकवानपुरबाट चालु आर्थिक वर्ष २०७४÷०७५ को पहिलो ६ महिनामा भारततर्फको निकासीमा अघिल्लो आवको ६ महिनामाभन्दा झण्डै ६१ प्रतिशतले घटेको देखिएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा मकवानपुरबाट नौ करोड ७१ लाख ३१ हजार ४३६ रुपियाँ बराबरको निर्यात व्यापार भएकोमा चालु आर्थिक वर्षको  पुस मसान्तसम्ममा निर्यात व्यापार तीन करोड ८० लाख ४९ हजार ३५० रुपियाँमा झरेको देखिएको छ । जिल्लाबाट हुँदै आएको निकासीमा ह्रास आउनुमा लोडसेडिङ, मजदुर समस्या र उद्योग धन्धा बन्द हुनु जस्ता कारणले निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा मकवानपुरका सातवटा उद्योगको निर्यातका लागि उद्योग बाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेकोमा यस आवमा तीनवटामा सीमित भएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को पहिलो ६ महिनाको अवधिमा बालाजी नेचुरल ईण्डष्ट्रिज, सिएसआइ नेपाल प्रा.लि. र प्रोजिओकेम प्रा.लि.ले मात्र भारतमा आफ्नो उत्पादन निर्यात गरेको उद्योग वाणिज्य संघले जनाएको छ । आर्थिक वर्ष २०६९÷०७० को  पुससम्ममा २२ करोड २९ लाख ८६ हजार रुपियाँ बराबरको निर्यात भएको थियो ।





कमेन्टसहरु




2332547 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top