Sajhakura Dainik - के २०७४ को आमनिर्वाचनले नेपालीको मुहारमा खुशी र उमङ्ग ल्याउला त ?
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

के २०७४ को आमनिर्वाचनले नेपालीको मुहारमा खुशी र उमङ्ग ल्याउला त ?


बिचार 28 पटक पढिएको




विष्णुप्रसाद गौतम पहिलो, दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचन सुसम्पन्न भइसकेको छ । बीस वर्षको अन्तरालमा देशले जननिर्वाचित जनप्रतिनिधिहरु पाएको छ ।

 प्रदेशसभा र संघीय सभाको निर्वाचनको पनि तिथिमित तोकिइसकेको छ । विकृति र विसङ्गतिका पहाडहरु सम्याउँदै नकारात्मकता फाँड्ने र सकारात्मकता बाँड्ने सशक्त जुझारु नेतृत्वको देशलाई खाँचो छ । म यसो गर्छु र उसो गर्छु भनेर जनतालाई मीठो आश्वासन मात्र बाँड्ने अब पुग्दैन । योजना र महत्वाकांक्षा मात्र गगनचुम्बी बनाएर मात्र कहाँ हुन्छ र ? चुरो कुरा त प्रतिबद्धता र कार्यकुशलताको पो हुन्छ । ठूला–ठूला आदर्शका कुरा गर्ने छलहरु पटक–पटक सत्तासीन मात्र भए तर देश र जनताले परिवर्तनको खासै प्रत्याभूति महशुस गर्नै सकेनन् ।

अहिलेसम्म पनि राणातन्त्र, प्रजातन्त्र, राजतन्त्र, बहुदल कि निर्दल, गणतन्त्र, जनयुद्ध हुँदै वर्तमान मोडसम्म आइपुग्दा सङ्क्रमणकालीन अवस्थाबाट देश मुक्त हुनै सकेन । नेताहरुको जीवनस्तर कहाँबाट कहाँ पुगिसक्यो । औषधि उपचारका लागि नेताहरु सबै विदेशै धाउँछन् । ठूलाबडा मन्त्री, सचिवहरु देशको ढुकुटीमा ब्रम्हलुट गरिरहेका छन् । एक आपसमा हिलो छ्यापाछ्याप गर्ने, सक्षमता, कार्यदक्षताभन्दा पनि दलीय भागबण्डाले सिङ्गो अर्थतन्त्र खोक्रो भई देश टाट पल्टिएको घोषणा गर्नमात्र बाँकी छ । जनताहरु जुन जोगी आयो कानै चिरेको भने झैं वाक्क व्याक्क भइसकेका छन्।

विश्वमा २९ वटा देशहरु गणतन्त्रतात्मक छन् । अमेरिका र स्वीट्जरल्याण्ड पनि गणतन्त्रात्मक देश हुन् । त्यहाँ पनि हामीकहाँजस्तै स्थानीय, संघीय र केन्द्रीय तीन तह नै छन् । ती देशहरुमा भएको विकासको तीव्रतालाई हेरेर हामीकहाँ पनि विकासको सम्भाव्यता आंकलन गरिएको हो । हामीकहाँ संगठित पुँजीको अभाव हुनुमा नेतृत्वकै असक्षमता देखिन्छ । सरकारले लगानी गर्ने विश्वसनीय वातावरण कहिल्यै सिर्जना गर्नै सकेन । कुनै वित्तीय संस्थाले ५ अरबको शेयर निस्कासन ग¥यो भने एक डेढ खरब पैसा झोरिन्छ। सबै रकमको शेयर दिन नसकेर व्याजसहित पैसा फिर्ता बुझाइन्छ। के बहुसंख्यक नेपालीहरु हातमुख जोड्ने समस्याबाट एकातिर पीडित छन् भने अर्कातर्फ यति ठूलो रकम कसरी बटुलिन्छ त ? निश्चय नै पुँजी बढाण्न सकिने विश्वासको वातावरण सिर्जित नहुनु नै हो । विदेशीहरु नेपालमा लगानी गर्न तत्पर छन्, तर हाम्रो सरकारी नीति नै कमिशनखोरी भएको र मजदूरहरुले अनेकौं बखेडा झिकेर उत्पादनभन्दा सुविधा बढी माग गर्दै तालाबन्दी गर्ने हुनाले मल्टिनेशनल कम्पनीहरु पछुताइरहेका मात्र होइन, कत्ति त बन्द नै भइसकेका छन् ।

कहाँको हिमालचुली, कहाँको कुखुराको सुली भने झैं ठूला राजनीतिक दलहरुसमेत अपवित्र गठबन्धन गरेर जसरी पनि चुनाव जित्नैपर्ने ‘डू अर डाई’को फन्दामा जेलिएर भोज भतेर र पैसाको खोलो बगाएर विकृतिलाई प्रश्रय दिइरहेका छन् । यसरी गैरजिम्मेवारीपूर्ण तरिकाले लगानी गरेपछि भोलि चुनाव जितेर जसरी पनि भ्रष्टाचार गरेर कमाउने उनीहरुको ध्येय बनेको हुन्छ भने देश र जनताप्रति त्यस्ता नेताहरु कदापि जिम्मेवार त बन्नै सक्दैनन् ।

राष्ट्रियताको एउटा उदाहरण हेरौं । महात्मा गान्धी राति जेनेरेटर बालेर अफिसमा काम गरिरहेका थिए । त्यसैबेला उनका पारिवारिक नातेदार विशेष कामले उनलाई भेट्न आउँदा उनले हत्तपत्त चपरासीलाई बोलाएर जेनेरेटर बन्द गर्न लगाई मैनबत्ती बालेर पारिवारिक वार्तालाप गर्न थालेछन् । चपरासीले किन यसो गर्नुभएको बापुजी ? भनेर प्रश्न गर्दा राष्ट्रिय ओहदामा बसेर मैले व्यक्तिगत स्वार्थमा राष्ट्रको तेल जलाउनु हुँदैन भनेर जवाफ दिएका थिए । हो, सच्चा राष्ट्रियता व्यवहारमा झल्किनु पर्छ । खै हाम्रा नेताहरुमा राष्ट्रियता ? हात्तीका चबाउने र देखाउने दाँत अलग–अलग हुन्छन् भने झैं कुरा मात्र आदर्शका हुन्छन्, व्यवहार ज्यादै लज्जास्पद हुन्छ । जस्तैः संविधानले २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन नपाइने स्पष्ट व्यवस्था गर्दागर्दै सत्ता टिकाउनकै लागि रेकर्ड तोडेर सामान्य ज्ञानमा नाम लेखाउन ५६ जनाको जम्बो मन्त्रिमण्डल बनाउँछन् । अर्थमन्त्रीले २०७४ साउनबाट कुनै पनि कर्मचारीलाई सञ्चयकोष राज्यले व्यहोर्न नसक्ने भन्छन् । यता मन्त्रिपरिषदले विशिष्टहरुलाई अरबांैको सुविधा दिने निर्णय गर्दछ । आयल निगमको जग्गा खरिद प्रकरणमा गोपाल खड्का बलीको बोको बनाइएका भए पनि यसमा अख्तियार, मालपोतदेखि माथिल्ला निकायसम्म मुटिएका देखिन्छन् । लहरो तान्दा पहरो थर्कन्छ भने झैं यसको वास्तविक रहस्य खुल्न त बाँकी नै छ । ३३ किलो, ८८ किलो सुन कसको संरक्षकत्वमा भित्रियो ? भारतका राष्ट्रपति अब्दुल कलाम र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आफू निवर्तमान भएपछि राष्ट्रबाट के लिए ? उनीहरुको त्याग र समर्पणबाट हाम्रा नेताहरुले पनि पाठ सिक्नु पर्छ ।

नेपालीहरु सुख सुविधाभोगी बनेर एय्यासी जीवनतर्फ उन्मुख हुँदैछन् । उर्बर जग्गा प्लटिङ गर्दै बेचेर पैसा बैंकमा राखेर सात समुद्रपारि उत्पादित आयातित खाद्यान्नहरु किनेर खान रुचाउँछन् । विदेशिएका आफ्ना सन्ततिहरुले ज्यान जोखिममा राखेर आर्जित 

रेमिट्यान्सबाट देश चलिरहेको छ । खुर्सानी, कागती, तरकारी, फलफूल र सम्पूर्ण खाद्यान्नहरुमा समेत परनिर्भर भएर बाँच्नुपर्ने भएपछि के को कृषिप्रधान देश ? ग्रीसजस्तो सांस्कृतिक ऐतिहासिक गरिमा बोकेको देश टाट पल्टियो भने हाम्रोजस्तो अनुदान र ऋणमा चलेको देशको भविष्य के होला ?

स्थानीय, प्रदेश र संघीय तीनै तहमा निर्वाचन सुसम्पन्न भएर संविधान कार्यान्वयन भए पनि देशले आर्थिक क्रान्ति गर्ने अल्पकालीन तथा दीर्घकालीन ठोस योजना नबनाइएमा देश भड्खालोमा पर्ने छ । सम्भावित स्थानीय साधन र स्रोतहरुको सही रुपमा परिचालन नगरी अनुदानको विकास निर्माणको बजेट जनप्रतिनिधिहरुलाई तलब र भत्तामै बाँड्नु ठूलो दुर्भाग्य हुनेछ ।

जननिर्वाचित प्रतिनिधिहरु छानिएर कुनै एक दलले स्पष्ट बहुमत ल्याएर देशलाई सम्पन्नताको फराकिलो राजमार्गतर्फ उन्मुख 

गराउनु आजको आवश्यकता हो । संविधानले दिशानिर्देश गरेअनुसार स्पष्ट बहुमत ल्याएर देशलाई स्पष्ट दिशाबोध गराउन सक्नुपर्छ । फेरि ‘हङ गभर्मेन्ट’ बनाउनु पर्ने स्थिति सिर्जिएमा भागबण्डा र कुर्सीको मोहले साधनस्रोत सम्पन्न प्राकृतिक धनी यो दशले आफ्नो मुहार हँसिलो बनाउन सक्नेछैन । विकृतिका पहाडहरुलाई गल्र्यामगुर्लुम ढालेर विधिको नीति र नियमभित्र देशलाई अग्रगमतर्फ डो¥याउन सक्ने सक्रिय र सक्षम नेतृत्वको अपेक्षा यो देशको सुनौलो भाय र भविष्यसँग गाँसिएको छ । मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी र काँधमा जिम्मेवारी बहन गरी कृषि, प्राकृतिक साधन र स्रोत अनि उद्योगधन्दाहरुको अत्यधिक विकास गरी देशलाई स्वाभिमानी र आत्मनिर्भर बनाउन सक्ने सक्षम राष्ट्रभक्त नेतृत्व आजको अपरिहार्यता हो ।





कमेन्टसहरु




2292544 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top