Sajhakura Dainik - मुख्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण उत्कृष्ट र पहिलो नम्बरको प्रदेश बनाउने घोषणा
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

मुख्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण उत्कृष्ट र पहिलो नम्बरको प्रदेश बनाउने घोषणा


समाचार 6 पटक पढिएको




हेटौंडा, २९ माघ÷ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

 प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई सपथग्रहण गराएकी थिइन् । सपथसँगै मुख्यमन्त्री पौडेलले सोमबार नै पदभारग्रहण गरेका छन् ।  सपथग्रहण तथा पदभार ग्रहण समारोहमा प्रतिनिधिसभा सांसद्, प्रदेश सांसद्, सचिव, कर्मचारी, सुरक्षा निकायका प्रमुख, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । मुख्यमन्त्री तथा सम्पूर्ण सांसद्हरु हेटौंडा–११ स्थित शहीद स्मारकमा गएर शहीद स्तम्भमा माल्यापर्ण गरेका थिए । 

पदभार ग्रहणसँगै मुख्यमन्त्री पौडेलले यस प्रदेशलाई उत्कृष्ट र पहिलो नम्बरको प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् । ‘आर्थिक समृद्धि र विकासको अत्याधिक सम्भावना रहेको प्रदेश हो यो । हामी अन्य प्रदेशका लागि रोल मोडल हुने गरी काम गर्नेछौं’, मुख्यमन्त्री पौडेलले पहिलो चरणमा नीति निर्माण गर्ने र दोस्रो चरणमा विकासका थालनी गर्ने बताएका छन् ।

आफू काममा विश्वास गर्ने मान्छे भएको भन्दै उनले आफू कुरा कम र काममा बढी गरेकै कारण यो स्थानसम्म आइपुगेको बताए । कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले प्रतिवद्ध भएर काम गर्न सके ३ नम्बर प्रदेशलाई उत्कृष्ट बनाउन सकिने विश्वास व्यक्त गरे । उनले समन्वयमा काम गर्न र प्रतिवद्ध भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

‘तराईदेखि हिमालसम्म जोडिएको यो प्रदेशका प्रत्येक जिल्लाको आ–आफ्नै विशेषता रहेको छ । स्रोत र साधनले यो प्रदेश सम्भावनायुक्त 

रहेको छ’, मुख्यमन्त्री पौडेलले प्रदेशमा रहेको स्रोत र साधनको पहिचानसहित परिचालन गर्दै समृद्धिको शुरुवात गर्ने प्रतिवद्धता जनाए ।

परिणाम, उत्पादनमुखी तथा व्यवस्थित र योजनाबद्ध काममा आफ्नो ध्यान जाने बताउँदै उनले प्रदेश नम्बर–३ लाई नमूना बनाउने पटक÷पटक प्रतिबद्धता जनाए । आफू सबैसँग समन्वय गरेर काम गर्ने मानसिकताको व्यक्ति भएको भन्दै उनले सबैसँग सहयोगको लागि आग्रह समेत गरेका छन्।

अनावश्यक रुपमा समय खेर फाल्ने प्रबृत्तिको अन्त्य हुनु जरुरी रहेको भन्दै यहाँ भएका स्रोत र साधनलाई भरपुर सदुपयोग गर्दै प्रदेश नम्बर–३ लाई सबैभन्दा नमूनालायक प्रदेश बनाउनको लागि दिनरात काम गर्ने उनको भनाइ रहेको छ । ‘कर्मचारीलाई पहिलो चरणमा आग्रह गर्नेछु । आग्रह गरेअनुसारको काम नभएको खण्डमा म निर्देशन गर्न बाध्य हुनेछु’, उनले सवैलाई आफ्नो जिम्मेवारी अनुसार काम गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा ३ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयका प्रदेशसभा सदस्यहरु, मुख्यसचिव रेश्मीराज पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रदेश सचिवालय सचिव डा. रोजनाथ पाण्डे, सुरक्षा निकायका प्रमुख, पूर्वसभासद् तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।





कमेन्टसहरु




2292564 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top