Sajhakura Dainik - जग्गा उपलब्ध गराउने विषयमा मेयरले मुख खोले ‘स्थायी राजधानी बनाउन सांसद्लाई लोभ्यान खोजेका होइनौं’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

जग्गा उपलब्ध गराउने विषयमा मेयरले मुख खोले ‘स्थायी राजधानी बनाउन सांसद्लाई लोभ्यान खोजेका होइनौं’


समाचार 6 पटक पढिएको


जग्गा उपलब्ध गराउने विषयमा मेयरले मुख खोले ‘स्थायी राजधानी बनाउन सांसद्लाई लोभ्यान खोजेका होइनौं’


हेटौंडा, १ फागुन÷ ३ नम्बर प्रदेश सदस्यहरुलाई किस्ताबन्दीमा घडेरी उपलव्ध गराउने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाले प्रदेशसभा सदस्यलाई लोभ्यान नखोजेको प्रष्टिकरण दिएको छ ।



उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतद्वारा जारी विज्ञप्तिमा प्रदेशको राजधानी हेटौंडामै रहने रहनेमा कुनै द्विविधा नरहेको भन्दै उपमहानगरको घडेरी उपलव्ध गराउने निर्णय लोभ्याउन नभएको बताएका हुन् । प्रदेशसभा सदस्यहरुलाई हेटौंडामा सधै बस्नका लागि सहज होस् भनेर यस्तो विधि अपनाएको उपमहानगरपालिकाले जनाएको छ ।

आफूहरुले घडेरी सित्तैमा दिन लागेको नभई चलनचल्तिको दरमा किस्ताबन्दीमा दिन लागिएको महतको भनाइ छ । नगर विकास समितिका अध्यक्ष राजिव सुवेदीको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले खरिद गर्न चाहने प्रदेशसभा सदस्यलाई पाँचबर्ष भित्रमा किस्ताबन्दीमा घडेरी उपलव्ध गराउने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले घडेरी दिने निर्णय गरे लगत्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपराष्ट्रपति तथा राप्रपा अध्यक्ष कमल थापा, तथा प्रदेश नम्बर ३ का सांसद्हरुले समेत विरोध गरेका थिए । विभिन्न दल, नागरिक समाजसहित सर्वसाधारणले यसको विरोध सामाजिक सञ्जालमार्फत् समेत गरेका थिए । चौतर्फी विरोध बढ्न थालेपछि महतले प्रेस विज्ञप्ति जारी गरी यसबारे प्रष्टिकरण दिएका हुन् ।

नगर विकासले यसअघि पनि आम सर्वसाधरणलाई घडेरी विक्री गरेको र सोही अनुसार प्रदेशसभा सांसद्हरुलाई विक्री गर्नका लागि छलफल भइरहेको बताए । ‘राम्रो र सफा मनसायले सांसद्लाई घडेरी विक्री गर्ने भनेर हामी अगाडि बढेका हौं । गलत काम गर्न खोजेका होइनौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेटौंडा–८, कमाने क्षेत्रमा नगर विकासको नाममा रहेको जग्गा सांसद्हरुलाई किस्ताबन्दीमा उपलब्ध गराउने योजना हेटौंडा उपमहानगरले 

गरेको थियो । यस प्रदेशका एकसय दश सांसदहरुले यस अस्थायी राजधानीलाई स्थायी बनाउन कुनै कसर बाँकी नराख्नेमा मेयर महत विश्वस्त देखिएका छन् । यस प्रदेशमा विभिन्न १३ वटा जिल्लाबाट आउने सांसद्हरुलाई भाडाको घरमा बसेर कठिनाई भोग्न नपरोस भनेर अहिले पनि हेटांैडाका एकदर्जन सरकारी कार्यालयका आवासहरु प्रयोगविहीन भएकालाई प्रयोग गर्ने र भवनहरुको पनि संरक्षण गर्ने भनिएको मेयर महतको भनाइ छ ।

यस प्रदेशको राजधानी हेटौंडामा तोकिएकोमा सवै हेटौंडावासी खुशी भएको समेत उल्लेख गरिएको छ ।  विज्ञप्तिमा अस्थायी राजधानी स्थायी हुने समेत विश्वास व्यक्त गरिएको छ ।





कमेन्टसहरु




2292570 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top