Sajhakura Dainik - शिक्षामा निजीकरण र व्यापारीकरण वर्गीय विभेदको कारक बन्दै
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

शिक्षामा निजीकरण र व्यापारीकरण वर्गीय विभेदको कारक बन्दै


बिचार 5 पटक पढिएको




रमेशप्रसाद लामिछाने मानव विकासको क्रममा वर्गीय भेद देखा प¥यो, तब मानिसका इच्छा, आकांक्षा पनि वर्गीय कित्तामा देखा परे ।

 सुरुमा मालिक र दास गरी दुई वर्गमा विभाजित मानव औद्योगिक क्रान्तिसँगै उच्च पूँजीपति, पूँजीपति, मध्यम, निम्न र सर्वहारा वर्गमा मानव जाति बाँडिए । यो मानव सभ्यताको विकाससँग जोडिन थाल्यो । आर्थिक स्तर नै वर्ग विभाजनको कारक बन्यो । धनले मानव जातिलाई विभिन्न वर्गमा विभाजन ग¥यो र यो क्रम वर्तमानमा आइपुग्दा झनै फस्टायो । वस्तुको स्तर होइन, आवरणमा त्यसले जबर्जस्त बोकेको मूल्यमा धेरैको ध्यान आकर्षण हुने संस्कार हावी भयो ।

पछिल्लो समयमा शिक्षा नै व्यापारको आकर्षणमा देखियो । जब राज्य र सरकारले शिक्षालाई व्यावसायिक वस्तुको रुपमा ग्रहण ग¥यो, तब शैक्षिक व्यापारमा ठूला पूँजीपतिवर्ग अग्रपंक्तिमा आए । राज्यको नीति कानून नै शिक्षाको आम दृष्टिकोणमा कमजोर बन्यो तब शिक्षालाई मुठ्ठीभर वर्गको व्यापारिक वस्तुमा रुपान्तरण गरियो । यो दलाल पूँजीपतिवर्गको नेतृत्वको सरकारको चरित्र नै हो । वस्तुमा जति धेरै मूल्य टाँसिन्छ, त्यति नै उक्त वस्तु स्तरीय हुने भ्रम र झुटको खेती व्यापक गरियो । जहाँ विपन्न वर्गको पहुँच हुँदैन त्यहाँ स्वर्ग हुने उच्च सुविधाको नाममा शोषण गरिने यथार्थता बुझाउने प्राय देखिएनन् । उदाहरणका लागि रातो बंगला स्कूलमा भर्ना गर्न कक्षा एकको शुल्क पाँच लाखसम्म पर्ने तथ्य बाहिर आयो । त्यहाँ आफ्ना सन्तान पढाउन उच्च पूँजीपतिवर्गको प्रतिस्पर्धा नै देखियो । यस्ता स्कूलको यथार्थता सधैं गोप्य राखियो ।

काठमाडौंमा यस्ता महंगा स्कूल धेरै छन्, जसले सहज शैक्षिक व्यापारबाटै ठूला उद्योगपतिको नामबाट सरकार र दलहरुलाई प्रभावित बनाएका छन् । पूँजीवादी अर्थव्यवस्थामा वस्तु र सेवाको स्तर होइन, त्यसले बोलिरहेको मूल्य नै हावी हुने यसको मुख्य चरित्र हो । नेपालका शिक्षण संस्थाहरुमा जसले बढीभन्दा बढी पैसा शुल्क लिन्छ, त्यो स्तरीय छ भन्ने भ्रम फिँजाइएको छ । एउटै पाठ्यक्रम उस्तै सिकाई उपलब्धि तर, सुविधाको नाममा गरिएको व्यवसाय शिक्षालाई नागरिकको पहुँचबाहिर लाने अभ्यास बनेको छ । क्षमतावान योग्य विद्यार्थी उच्च शिक्षामा डाक्टर, इन्जिनियर बन्नबाट पैसाकै कारणले वञ्चित हुन्छ र सिंगो जीवनको कोर्स फेर्न बाध्य बन्छ ।

मोफसलका शिक्षण संस्थाहरुको पनि उही हर्कत देखिन्छ । स्तरीयतामा होइन, शुल्कको आयतन र व्यवसायीको नाममा शिक्षण संस्थाको ख्याति जोडिएको छ । आम अभिभावकको लहर त्यतै हुन्छ । किनकि उनीहरु प्रचारमा अगाडि हुन्छन् । मिडियाले त्यस्तै पूँजीपतिहरुको वकालत गर्दछ । यो स्वभाविक चरित्र हो । पैसा नहुने, नाम नचलेको व्यवसाय नगर्ने, खाजा संस्कारबाट टाढा रहने शिक्षण संस्थाको चर्चा कतै हुँदैन । शिक्षण संस्था झनै राजनीतिक आवरणमा थप व्यवसायतर्फ उन्मुख देखिन्छ । सञ्चालक कुन पार्टीका छन्, अझ सामुदायिक शिक्षण संस्थाका अध्यक्ष तथा प्रमुखहरु, प्रअहरुको राजनीतिक पार्टी र आर्थिक हैसियतका आधारमा ती संस्थाहरुको मूल्यांकन हुन्छ ।

विगत वर्षदेखि नै शैक्षिक व्यवसाय बढी आकर्षक बन्नुको मूल कारण पनि यही हुन सक्छ । वस्तुको आकार, प्रकार, गुण, प्रयोग एकै भए पनि राखिएको स्थान वा बजारको नामले जसरी फुटपाथ र सुपरमार्केटमा आउने अन्तरजस्तो शिक्षामा पनि हुनु स्वभाविक दुर्घटना स्वीकार गर्नैपर्छ । उपलब्ध साधन र स्रोतको उपयोगबाट आज सरकारी शिक्षण संस्थाले स्तरीय शिक्षामा फड्को मारिसकेका छन् । अधिकांश यी स्कूल तथा कलेजमा अँग्रेजी माध्यमबाट शिक्षण गरिएको पाइन्छ । भौतिक सुविधा थप सुदृढ छन्, सरकारी शिक्षण संस्थामा । तर, शुल्क तिर्नु नपर्ने वा न्यून शुल्कमात्र भए पुग्ने कारणले आर्थिक रुपले सम्पन्न हुनेहरु बढी पैसा तिरेर आफ्नो सन्तान पढाएको रबाफ देखाउन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुको देखासिकी गरेर न्यून आय हुने विपन्न वर्गका विद्यार्थीलाई समेत अनेक प्रलोभनमा निजी शिक्षण संस्थामा आकर्षित गर्ने गरेको पाइन्छ।

नियम, कानून, विधि, विधानभन्दा माथि हुने यी वर्ग शिक्षालाई सदैव आफ्नो मुठ्ठीभित्र जकडेर खास सम्पन्न वर्गको पृष्ठपोषक रहँदै शैक्षिक आधिपत्यता कायम गर्न सफल भएका छन् । वास्तविकता बुझ्न बुझाउन जटिल बनेको हाम्रो शैक्षिक संरचना र राज्यका अंग सधैं सरकारी शिक्षण संस्थाको आलोचनामा मात्र केन्द्रित छन् । यता यी आफैं बोक्सी र आफैं धामीको अभिनय गर्दै राज्य लुटिरहेका छन् । एउटा राष्ट्रको शैक्षिक भिजन के हुनुपर्छ र यसको शिक्षा व्यवस्थाको प्रति उत्तरदायी रहन्छ भन्ने तथ्य नबुझेर हैन, यो त बुझ पचाउने र हेप्ने काम भएको हो । आम नागरिकमा भ्रम छर्न सफल यो वर्ग नितान्त उच्च दलाल पूँजीपति र सामन्त वर्गको हित र स्वार्थमा समर्पित भएको वास्तविकता स्पष्ट छ । व्यवसायको मुनाफाबाट राज्यलाई तिर्नुपर्ने कर सिधै विद्यार्थीको शुल्क रसिदमा देखाएर अभिभावकले चुक्ता गरी यी मालिकको शिक्षण संस्था सम्पन्न गरिरहने अभिभावकमा पनि केही समस्या त छ नै ।

सीपमूलक र प्राविधिक शिक्षालाई सर्वसाधारणको पहुँचभन्दा टाढा राख्ने अनि साक्षर बनाउने शिक्षालाई अधिक जोड दिने र शिक्षामा व्यापक लगानी तर, उपलब्धि कम भन्ने हल्ला सर्वत्र व्यापक गर्ने सरकारी नीति नै शिक्षा व्यापारसँग प्रत्यक्षतः जोडिएको छ । विद्यार्थी तथा शिक्षकका पेसागत संस्थाहरु तिनै अभिभावक पार्टीको पक्षपोषणमा लागेकाले यो वास्तविकता बाहिर ल्याउन चाहँदैनन् । सधैं आमूल परिवर्तन र वैज्ञानिक शिक्षाको नाममा खेलिरहन चाहन्छन् । सरकारी निःशुल्क शिक्षा नीति आलोचनाको घेरामा विश्लेषण गर्नुपर्ने विषय बनेको छ । त्यस्तै निःशुल्क पाठ्यपुस्तक यी दुबै व्यापक बहस गर्नैपर्ने शीर्षक बनेका छन् । विद्यार्थीले पूरै किताब वर्षदिनसम्म नपाउने र पैसा नलागने वा न्यून भएकै कारणले मध्यम वर्गीय नागरिकसमेत महंगा शिक्षण संस्था खोजेर हिँड्ने गरेको तथ्य यहाँ स्मरणीय छ ।

प्रसंग उठाउँदा पनि औपचारिकता मात्र पूरा गर्ने सरकारी शैली स्वयम् शिक्षालाई निजीकरण गर्न उदृत देखिन्छ । बीचमा केही वर्ष खेल्ने खेलाउने गरी पूर्णतः व्यवसायमा लैजाने काममा जोडले आन्तरिक शक्ति खर्च गरिरहने वर्गले सरकारी शिक्षा ध्वस्त बनाउने कसरत गरेकै हुन् । यी वास्तविकता सरकारी शिक्षण संस्थाका जिम्मेवार अंग समिति, शिक्षक र अभिभावकले नबुझेर आफ्नै घर जलाउँदै खरानी पोको पारेर बेच्न हिँडेको देख्दा झनै पीडाबोध भएको छ । कमजोर एकता र वर्ग दुश्मनको पहिचान गर्न नखोज्नु अर्को समस्या बनेको छ । जागिरे मानसिकता बोकेर यहाँ यस्तै ठिक छ भनेर निराश बन्ने बाउने वर्ग अर्को घातक कित्ताको रुपमा स्थापित भएको सत्य यहाँ छिपेको छैन ।

हामी सरकारी लगानीको अधिकतम सदुपयोग गरी स्तरीय सीपमूलक प्रविधियुक्त शिक्षा प्रदान गर्न जोड गर्दछौं । शैक्षिक क्षेत्रमा विद्यमान व्यापारीकरणको अन्त्य चाहन्छौं । तमाम शैक्षिक विकृति र विसंगतिलाई चिरेर आम नागरिकको ज्ञान र सीप अभिवृद्धि गर्ने शिक्षा प्रणाली हाम्रो 

रोजाई हो । समृद्ध नेपालको सपना साकार पार्न शिक्षा व्यवस्थाको अहम् भूमिका स्थापित गर्नु हामी सम्बद्ध सरोकारवर्गको मूल अधिकार बन्नैपर्छ, लक्ष्य हुनैपर्छ 





कमेन्टसहरु




2350369 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top