Sajhakura Dainik - दुई दशकदेखि बन्द कपडा उद्योग पुनः चलाउने चर्चा ‘२० करोड लगानी आवश्यक’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

दुई दशकदेखि बन्द कपडा उद्योग पुनः चलाउने चर्चा ‘२० करोड लगानी आवश्यक’


समाचार 8 पटक पढिएको


दुई दशकदेखि बन्द कपडा उद्योग पुनः चलाउने चर्चा ‘२० करोड लगानी आवश्यक’


हेटौंडा, ४ भदौ÷ पाँचवर्षे स्थायी सरकार आएसँगै करिब दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग चलाउने विषयमा पुनः चर्चा चुलिएको छ ।

यसअघिका सरकारले पनि कपडा उद्योग चलाउने चर्चा चलाए पनि सफल हुन सकेको थिएन । स्थायी सरकारले भने कपडा उद्योग सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले अध्ययन समिति नै बनाई कपडा उद्योग सञ्चालन गर्न सम्भाव्यता अध्ययन सक्याइसकेपछि अब भने कपडा उद्योग सञ्चालन गर्नेमा सरकार गम्भीर रुपमा लागेको विश्लेषण गरिएको छ । सम्भाव्यता अध्ययन समितिका अनुसार हेटौंडा कपडा उद्योग ६ महिनाभित्र सञ्चालनमा ल्याउन सकिने छ भने ३ वर्षभित्र व्यवसायिक उत्पादन थाल्न सकिनेछ । उद्योग मन्त्रालयका सहसचिव एवम् अध्ययन समिति संयोजक शत्रुघनप्रसाद पुडासैनीको टोलीले तयार परेको प्रतिवेदन अनुसार कपडा उद्योगमा २० करोड लगानी गर्नु आवश्यक रहेको छ । पुडासैनीका अनुसार उद्योगमा रहेका ४ सय ७७ वटा सिलाइ मेसिनमध्ये करिब ५० प्रतिशत सञ्चालन गर्न सकिन्छ । ती मेसिनबाट ४४ इन्चको कपडा तयार गर्न सकिन्छ । वर्षेनि करौडौंको कपडा खरिद गर्ने सेना, प्रहरी र सशस्त्रको कपडा हेटौंडा कपडा उद्योगबाटै उत्पादन गर्न सकिने पुडासैनीले सुझाव दिएका छन् । प्रतिवेदनअनुसार पहिलो चरणअन्तर्गत ६ महिनामा विस्तृत अध्ययन गरी जनशक्ति, कच्चा पदार्थ तथा स्पेयर पार्टसको आपूर्ति, मर्मतसम्भार सुरु गर्न चीन सरकारबाट प्राविधिक सहयोग माग गर्न सकिन्छ । सिलाइ युनिटबाट तयार पारिएको कपडालाई आउट सोर्समार्फत प्रिन्टिङ गरी नेपाली सेनालगायत अन्य सुरक्षा निकायका लागि आवश्यक चुस्ता कपडा तथा कार्यालय पोसाक उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ । दोस्रो चरणमा तीन वर्षभित्र उद्योगको आधुनिकीकरण गरी सिलाइ युनिट नाफामूलक रूपमा सञ्चालन गर्ने, सुरक्षाफौजको आवश्यकताअनुसारको कपडा उत्पादन गर्न सकिने सहसचिव पुडासैनीले बताए । उद्योगबाट क्यानभास टेन्टका कपडाहरू उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । आवश्यक बजेटको स्रोत जुटाई नयाँ मेसिन खरिद गरी कम जनशक्तिबाट उत्पादन कार्य गर्ने जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ८८ रोपनी क्षेत्रमा कपडा उद्योग रहेको छ । प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि अध्ययन समितिले ६ वटा सिफारिस गरेको छ । समितिले सिफारिस गरेको मोडलमध्ये कुन मोडलबाट जाने त्यसको टुङ्गो लगाउन भने बाँकी छ । उद्योग सञ्चालन हुँदा १ हजार ५० कर्मचारी आवश्यक पर्ने जनाइएको छ । हाल सुरक्षाका लागि १२ जना कर्मचारी छ । प्रतिवेदनको अध्ययनपछि केहीसमयमा नै कपडा उद्योग कसरी चलाउने भन्ने बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जनाइएको छ । यसअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले पनि उक्त उद्योग सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसका लागि मोडालिटी तयार गर्न अध्ययन कमिटी पनि गठन गरेका थिए ।






कमेन्टसहरु




2366926 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top