Sajhakura Dainik - प्रदेशको राजधानी प्रस्तावित कुन जिल्ला कस्तो ?
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
समाचार

प्रदेशको राजधानी प्रस्तावित कुन जिल्ला कस्तो ?


समाचार 9 पटक पढिएको


प्रदेशको राजधानी प्रस्तावित कुन जिल्ला कस्तो ?


हेटौंडा ४, भदौ÷ प्रदेश नम्बर–३ को स्थायी राजधानीको लागि सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।

 मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिए । सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन तयार पारिसके पनि छलफल भने अघि बढ्न सकेको छैन । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य प्रदेशसभाको भनिए समिति बनाइनु अवैधानिक भन्दै उच्च अदालतमा मुद्दा परेका कारण प्रदेशसभामा छलफलको प्रक्रिया अघि बढ्न सकेको छैन ।

मकवानपुर

क्षेत्रफलको हिसाबले मुलुककै ठूलो औद्योगिक जिल्लाका रूपमा लिइएको मकवानपुरको क्षेत्रफल दुई हजार ४२६ वर्ग्किमि छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । मानव निर्मित ताल इन्द्रसरोवर, चिसापानीगढी र सहिद स्मारक यहाँका पर्यटकीयस्थलकारुपमा महत्वपूर्ण छ । उत्तरतर्फ करिब ६६ किमि लामो महाभारत शृंखला र दक्षिणतर्फ करिब ९२ किमि लामो चुरे पर्वतको काखमा रहेको मकवानपुर अहिले प्रदेश–३ को अस्थायी मुकामसमेत हो । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको यस क्षेत्रबाट तराई र पहाड दुवै नजिक पर्छन् । ब्राहम्ण, क्षेत्री, तामाङ, राई, नेवारको बसोबास पाइने मकवानपुरमा नेपाली, तामाङ, राई, मगर भाषा प्रचलित छन् । देशको पूर्व तथापश्चिम भागलाई जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग यो जिल्ला पार भएर जान्छ । 

भक्तपुर

काठमाडौंको पूर्वी भागमा पर्ने भक्तपुरलाई भादगाउँ र ख्वःपसमेत भनिन्छ । देशकै सबैभन्दा सानो जिल्लाका रुपमा परिचय बोकेको भक्तपुर करिब ११९ वर्र्गिकमि क्षेत्रफलमा फैलिएको छ । भादगाउँले टोपी र जुजु धौ (स्थानीय दही)को उत्पादनका लागि लोकप्रिय भक्तपुरमा नेवार, बाहुन, क्षत्री र तामाङको बसोबास पाइन्छ । भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा छ ।

काभ्रेपलाञ्चोक

करिब एक हजार ४०० वर्गकिमि क्षेत्रफल रहेको पहाडी भूभागको काभ्रेपलाञ्चोकमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, दाप्चा, नाल्दुम, चौकोटजस्ता बजार रहेका त्यहाँ पुरातात्विक महत्वका केही सम्पदा स्थल पनि छन् । औद्योगिक महत्वका दृष्टिकोणले करिडोर स्थापनाका लागि अध्ययन भइरहेको काभे्रपलाञ्चोकको सदरमुकाम धुलिखेल करिब २१ किमि पूर्वमा पर्छ ।

नुवाकोट

काठमाडौंको उत्तर, पश्चिममा पर्ने पहाडी प्रदेश नुवाकोटमा उच्च पहाडी क्षेत्र तथा यत्रतत्र छरिएका समथर बेसी र टारीखेत छन् । हिमाली क्षेत्र नजिक भौगोलिक विविधता रहेको नुवाकोटमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छ । उक्त जिल्लाको क्षेत्रफल एक हजार १२१ वर्ग्किमि छ । तामाङ, नेवार, क्षेत्री, ब्राह्मण, मगर र दलित समुदायको बसोबास रहेको नुवाकोटमा नेपाली, तामाङ, नेवारी, मगर र शेर्पा भाषा प्रचलनमा छ ।

चितवन

करिब दुई हजार २३८ वर्गकिमि क्षेत्रफल रहेको चितवनमा करिब ९०० वर्गकिमि जमिन चितवन राष्ट्रिय निकुञ्जले ओगटेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० महत्वपूर्ण सम्पदामध्ये उक्त निकुञ्ज एक हो । गुरुङ, बाहुन, क्षत्री, नेवार, थारू, दराई, चेपाङ, तामाङ, बोटे समुदायको बस्ती रहेको र नेपाली, थारू, चेपाङ, बोटे भाषा प्रचलनमा रहेको यहाँको नारायणी नदीको किनारस्थित चितवन तथा भरतपुर बजारलाई ठूलो बजारका रुपमा लिइन्छ । देशको मध्यपश्चिम क्षेत्रको महत्वपूर्ण व्यापारिक नगर भरतपुर हो । उत्तरी भागमा महाभारत पर्वत शृंखला रहेको चितवनमा भित्री मधेसका रुपमा रहेको भरतपुर महानगरपालिका सहित सात नगरपालिका छन् । प्रदेशको राजधानी र नामाकरण गर्न ढिला भएका कारण नीतिगतरूपमा कार्यसम्पादनमासमेत ढिलाइ भएको केही प्रदेशसभा सदस्यको भनाइ छ ।






कमेन्टसहरु




2366916 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top