Sajhakura Dainik - सिमसार क्षेत्रको संरक्षण
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

सिमसार क्षेत्रको संरक्षण


हाम्रो कुरा 39 पटक पढिएको




बिहीबार फेब्रुअरी २ तारिखको दिन विश्व सिमसार दिवस मनाइएको छ । विश्वको पर्यावरणमा सिमसारको महत्वपूर्ण भूमिका रहने भएकाले विश्वभर यो दिवस मनाइएको हो ।
 सन् १९८५ को फेब्रुअरी २ तारिखमा इरानको रामसार सम्मेलनले महासन्धिमा हस्ताक्षर गरेपछि सन् १९९१ देखि यो दिवस मनाउन थालिएको हो । यसवर्ष सिमसार दिवसको नारा ‘विपद् जोखिम न्यूनीकरणका लागि सिमसार’ रहेको छ । विश्वव्यापीरुपमा बढ्दै गएको पानीको संकटबाट छुटकारा पाउन सिमसार क्षेत्रको संरक्षणमा जोड दि“दै नेपालमा पनि विश्व सिमसार दिवस मनाइएको छ । विश्व सिमसार दिवसको उपलक्ष्यमा समुदायलाई सिमसार क्षेत्र नाश हुनबाट जोगाउन पहल गर्न आह्वान गरिएको छ ।  एसियाका दुई अर्ब मानिसलाई पानी आपूर्ति गर्ने ठूला नदीहरुको उद्गमस्थल नेपाल रहेकोले नेपालको सिमसार क्षेत्रको महत्व अझ बढी रहेको पाइन्छ ।
नेपाल औपचारिकरुपमा सन् १९८७ मा रामसार महासन्धिको पक्षराष्ट्र भएको हो । पृथ्वीका लोप हुने क्रममा रहेका धेरैजसो सिमसार क्षेत्रहरु एसिया महादेशमा रहेका छन् । विश्वभरका करिब १ सय ६९ देशका करिब २ हजार २ सय २५ सिमसार क्षेत्रहरु रामसार सूचीमा सूचीकृत गरिएकामा नेपालका ९ वटा क्षेत्रहरु रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालको घोडाघोडी ताल, कोशीटप्पु बन्यजन्तु आरक्ष, जगदिशपुर ताल, गोसाईकुण्ड, बीसहजारी ताल, माइपोखरी र पोखरा आसपास फेवा, वेगनास, रुपालगायत नौ वटा तालहरु विश्व रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र हुन् । नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार सिमसार भन्नाले धाप वा दलदल, घोल, तालतलैया, पोखरी, दहकुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित धानखेत, जलक्षेत्रका घाँसे मैदान वा जललाई बुझाउँछ । जैविक विविधताको संरक्षण, जल, विज्ञान, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ । नेपालमा रहेका पाँच हजार ३ सय ५८ वटा ताललाई सिमसारको रुपमा राखेर संरक्षण गर्ने अभियान सञ्चालन गर्ने कार्ययोजना तयार पारिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपालमा दुई हजार ३ सय २३ हिमताल, पाँच हजार जलाधार, एक हजार ३ सय ८० पोखरी, पाँच हजार एक सय ८३ वटा तलैयाहरू रहेका छन् ।
सिमसार लाखौ, घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी कीरा र बोटविरुवाका लागि महत्वपूर्ण बासस्थान हो, जसले जनसमुदायका लागि जीवनयापनको आधारसमेत प्रदान गरेको हुन्छ । सिमसारभित्र जलपरिचालन र शुद्धिकरण निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मिर्गौलाको रुपमा पनि लिने गरिएको छ । वातावरणीय सन्तुलनका लागि मुख्य भूमिका निर्वाह गरिहेको सिमसार क्षेत्र सम्पूर्ण प्राणी एवम् वनस्पति जगतको अस्तित्व जोगाउने आधारभूत तत्व भएकाले पर्यावरणीय सन्तुलन, जलवायु परिवर्तन र जैविक विविधताको पर्यायको रुपमा लिने गरिन्छ । तर, पछिल्लो समय जथाभावीरुपमा हुने गरेका विकास निर्माणका कार्य तथा अव्यवस्थित बसोबासका कारण सिमसार क्षेत्रहरु संकटमा पर्दै गएका छन् । सिमसार क्षेत्रको संरक्षणमा सरकारी, गैरसरकारी संघसंस्थामात्र नभई हरेक व्यक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ ।



कमेन्टसहरु




2332575 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top