Sajhakura Dainik - ‘कविता मनका पखेटा हुन्ः अधिकारी’
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
साहित्य

‘कविता मनका पखेटा हुन्ः अधिकारी’


साहित्य 28 पटक पढिएको


हेटौंडा,१७ वैशाख÷कवि तथा गीतकार दिनेश अधिकारीको भर्खरै मात्र प्रकाशित कविता संग्रह ‘भरियाको भूगोल’ माथि आइतबार हेटौंडामा परिचर्चा गरिएको छ ।

शनिबार काठमाडौंमा विमोचन भएको काव्य कृतिको परिचर्चा तथा साक्षात्कारको लागि कवि अधिकारी आइतबार हेटौंडा आएका हुन् । हेटौंडाका सहित्यकार तथा साहित्यअनुरागीहरुसँग अन्तरक्रिया गर्दै  अधिकारीले कविताहरु आफ्नो मनको पखेटा भएको तर्क प्रस्तुत गरे । ‘कविता मैले गरेको एकोहोरो प्रेम हो, पेशा होइन ।’ उनले भने–‘कविता स्वतन्त्र हुनुपर्छ, स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्द नै कविता हो ।’ कविता कुनै वादमा बग्न नहुने भन्दै सरल अभिव्यक्तिबाट चोटिलो प्रहार गर्न सक्नुपर्ने अधिकारीको धारणा थियो ।
 भर्खरै प्रकाशित कविता ‘भरियाको भूगोल’ भरियाको चित्रण गर्दै सामाजिक, राजनीतिक तथा आर्थिक पक्षको चित्रण गरिएको जानकारी गराए। कविता सरल हुनुपर्ने तर्क प्रस्तुत गर्दै अधिकारीले सामान्य लेखपढ गर्न सक्ने मानिसले पनि बुझ्न सक्ने गरी कविता लेख्नुपर्ने धारणा राखे । मौलिकता बिना कुनै पनि लेखकले आफ्नो परिचय बनाउन नसक्ने भन्दै उनले आफ्नो कविताले पनि मौलिकता बोकेको बताए ।
कार्यक्रममा गायक तथा संगीतकार आभाषले अधिकारीको कृतित्व र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । अधिकारीको गद्य शैलीको कवितामा पनि लय हुने बताउँदै आभाषले भने–‘उहाँका कवितामा गीत भेटिन्छन्, गीतमा कविता भेटिन्छन् । भरियाको भूगोल कविता संग्रहमा पनि उहाँले भरियाको संघर्षको दृश्य प्रष्ट उतार्नुभएको छ ।’
२०१६ साल मंसिर २२ गते काठमाडौंको बानेश्वरमा जन्मिएका अधिकारीको हुर्काई भने मधेसको सर्लाहीमा भएको हो । अध्ययनअनुसारै उनले कानुनका क्षेत्रबाट व्यावसायिक जीवन थालनी गरे। महान्यायाधिवक्ताको कार्यालय हुँदै निजामती सेवामा समेत संलग्न अधिकारी नेपाल सरकारको सचिवबाट सेवानिवृत्त भएका हुन् । त्यसैले २०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कार र २०५१ सालमा ‘इन्द्रजात्रा’का निम्ति साझा पुरस्कारलगायत थुप्रै सम्मान र पुरस्कारले समेत उनी सम्मानित भइसकेका छन्।
२०३७ सालमा ‘अन्तरका चित्तहरु’ कविता संग्रहबाट उनको यात्रा सुरु भएको थियो । त्यसयता उनका दर्जनभन्दा बढी कविता संग्रह र त्यति नै संख्यामा गीति संग्रह निस्किसकेको छ। प्रस्तुत कृति भने २०५१ सालमा उनलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको दोस्रो काव्य हो ।
मकवानपुर बहुमुखी क्याम्पसको नेपाली तथा पत्रकारिता विभागको आयोजनामा भएको साक्षात्कार कार्यक्रमा क्याम्पस प्रमुख बच्चुराम अधिकारी, झरना
साहित्य परिवारका कोषाध्यक्ष निरा शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 साहित्यकार तथा नेपाली विषयका प्राध्यापक निमेष निखिलले कार्यक्रममा सहजीकरण गरेका थिए । नेपाली तथा पत्रकारिता विभागका संयोजक घनश्याम घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो ।



कमेन्टसहरु




2332542 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top