Sajhakura Dainik - नेतृत्वलाई जवाफदेही बनाउनुपर्छ
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

नेतृत्वलाई जवाफदेही बनाउनुपर्छ


हाम्रो कुरा 68 पटक पढिएको


स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत् सबै तहको मतदान सम्पन्न भई अधिकांश स्थानीय तहको नतिजा पनि सार्वजनिक भइसकेको छ ।
 चार महानगर, एक उपमहानगर र केही नगरपालिकाको मतगणना जारी छ । अबको दुई तीन दिनभित्र सम्भवत सबै २ सय ८३ स्थानीय तहको मत परिणाम सार्वजनिक हुनेछ । अहिलेको स्थानीय तह निर्वाचनमा अधिकांश ठाउँमा दलहरुका अपेक्षा र आँकलनभन्दा फरक
परिणाम आएका छन् । विगतका निर्वाचनमा भन्दा यसपटक आम मतदाताले क्रस भोटिङ गरेका छन्, जसले गर्दा एउटै तहमा पनि विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि विजयी भएका छन् । तुलनात्मकरुपमा राम्रो छवि भएका र केही गर्न सक्छन् भन्ने विश्वास भएका उम्मेदवारलाई अधिक जनताले रुचाएको पाइएको छ । यसले आम मतदाता राजनीतिक रुपमा सचेत बन्दै गएको देखिन्छ । अधिकांश मतदाताले हाम्रो भन्ने मानसिकताबाट अगाडि बढेर राम्रोलाई मत प्रकट गरेको निर्वाचन परिणामले देखाएको छ।
अहिलेको स्थानीय तह निर्वाचनबाट विभिन्न स्थानीय तहको नेतृत्व गर्न चुनिएका प्रतिनिधिले आफ्नो मतपरिणामलाई आत्मसात् गरी हाम्रोभन्दा सबैको बनेर आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । लोकतन्त्रमा बहुमतको कदर हुने भए पनि अल्पमतको सही कुरा बहुमतले सुन्ने र मान्ने गर्नुपर्छ । सधैं बहुमतले भनको नै सही हुन्छ भन्ने हुँदैन । राम्रो कुरा छ भने अल्पमतको पनि कदर हुन सकेमा लोकतन्त्रप्रति सबैको विश्वास रहन्छ । अन्यथा अहिले राम्रो भनेर जिताएका नेतृत्वलाई जनताले अर्को निर्वाचनमा पराजित गराउन सक्छन् । किनभने जनता सार्वभौम हुन्छन् । जनताले आफूमा निहित सार्वभौमसत्तालाई निर्वाचन समयमा अमूल्य मत प्रकट गरेर प्रतिनिधि छनोट गर्ने गर्दछन् । आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको व्यग्र प्रतीक्षामा रहेका जनता निर्वाचनबाट स्थापित हुने नेतृत्वप्रति धेरै आशावादी छन् । यतिखेर स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएपश्चात् दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी प्रारम्भ गरिसकेको छ । जनताको विश्वास र सरकारको सहयोगबाट निर्वाचन आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दोरहेछ भन्ने दृष्टान्त विगतका विभिन्न निर्वाचनले देखाइसकेका छन् । केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण तरिकाले पहिलो चरणको निर्वाचन सम्पन्न भएका कारण पनि दोस्रो चरणको निर्वाचन सहजै सम्पन्न हुने विश्वास गरिएको छ ।
स्थानीय निर्वाचनले दुई दशकपछि नेतृत्व तहमा पुग्ने अवसर सिर्जनामात्र गरेको छैन, चुनिएका नेतृत्वले इमानदारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ । अहिले कतै चुनावी उत्साह त कतै निराशा छाएको छ । जित्नेहरु उत्साहका साथ बाजागाजासहित अबिरजात्रामा सहभागी भइरहेका छन् भने हार्ने उम्मेदवार र मतदाताहरु मौन छन् । हार्नेहरुले जित्ने खुट्किलोका रुपमा र जित्नेहरुले पाँच वर्ष चुनौतीका रुपमा लिन सकेमात्रै चुनावी तापक्रम सामान्य हुँदै जानेछ । हामी नेपाली सामाजिक सद्भाव, सांस्कृतिक विविधता र धार्मिक निरपेक्षताका रुपमा वैभवशाली भएर पनि आर्थिकरुपमा विपन्नकै अवस्थामा छौँ । अब यस चुनावले नेपाल र नेपालीको भाग्यरेखा कोर्नुपर्नेछ । सुन्दर र समृद्ध देश बनाउनुपर्नेछ । चयन गरेका नेतृत्वलाई जवाफदेही बनाएर जनमतको कदर गर्दै जनमुखी काम गर्न खबरदारी गर्नुपरेको छ ।



कमेन्टसहरु




2292558 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top