Sajhakura Dainik - टीकापुर घटना र आममाफी
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

टीकापुर घटना र आममाफी


हाम्रो कुरा 2 पटक पढिएको


२०७२ भदौमा कैलालीको टीकापुरमा भएको जघन्य आपराधिक घटनाको चर्चा फेरि एकपटक देशव्यापी भएको छ ।
 सरकारले केही दिनअघि तराईमा घटेको आन्दोलनलाई राजनीतिक आन्दोलन मानेर मुद्दा फिर्ता लिने निर्णय गरेपछि टीकापुर घटना पनि त्यसमा समावेश भएको भनी विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन र प्रसारण गरेका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त घटनालाई गलत व्याख्या गरिएको भनी खण्डन गरेपछि टीकापुर घटनाका आरोपीहरुले उन्मुक्ति नपाउने भनी स्पष्ट पार्ने प्रयास गरिएको थियो । अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिने निर्णय भएको भन्दै टीकापुर घटना फेरि बल्झिएको हो । सरकारको यस निर्णयले कानूनी राज्यलाई ठाडै चुनौती दिएको भन्ने आलोचनाहरु पनि
भइरहेको छ । सरकारको यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । रिटको सुनुवाई गर्दै सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
थरुहट आन्दोलनको क्रममा करिब दुई वर्षअघि सुदूरपश्चिम कैलालीको टीकापुरमा भएको अत्यन्त दर्दनाक र अमानवीय घटनामा आठ प्रहरीसहित एक बालकको आन्दोलनकारीहरुले निर्ममतापूर्वक हत्या गरेका थिए । यो घटना तत्कालीन समयमा केही मधेशका मसीहा भनाउँदाहरु र स्वार्थको राजनीति गरी आफ्नो राजनीतिक फाइदा लिन खोज्ने राजनीतिक ठगहरुको सुनियोजित प्रपञ्च हो । यस घटनामा स्थानीय सोझासाझा थारुहरुलाई जबर्जस्ती प्रयोग गरिएको थियो । यस घटनाको पछाडि अर्कै कुटील र समाज भाँड्ने समूहहरुको हात छ । यति जान्दाजान्दै पनि यसै घटनाका आरोपीहरुका मुद्दा फिर्ता लिनु ती टुहुरा र आश्रित परिवारहरुको नैतिक हत्या गर्नु हो । यस्ता मुद्दा फिर्ता लिने घटनाले नागरिकहरुमा सरकार भनेको अपराधीहरुलाई संरक्षण गर्ने संस्था भन्ने पर्नसक्छ । टीकापुर घटना तराई मधेसका आन्दोलनहरुमध्ये अत्यन्त विभत्स र अमानवीय घटनाका रुपमा लिइन्छ । उक्त घटना राजनीतिक नभएर पहाडिया र मधेसीलाई फुटाएर साम्प्रदायिक दंगा
गराउने उद्देश्यबाट अभिप्रेरित रहेको थियो । स्वयम् माओवादी पार्टीले समेत उक्त घटनामा कुनै संलग्नता नरहेको जानकारी गराएको थियो । नेपाली–नेपालीबीच जातीय युुद्ध गराएर हत्या र हिंसामा उतार्ने गलत उद्देश्यबाट प्रेरित थियो भन्ने कुरा स्पष्ट भएको छ । उक्त घटनालाई सरकारले नियन्त्रण नगरेको भए थप मानवीय क्षति हुनसक्ने कुराको आँकलन त्यतिबेला नै गरिएको थियो । यस्तो जघन्य अपराधमा संलग्न जोसुकै भए पनि उन्मुक्ति दिन नहुने कुरा राष्ट्रिय मानवअधिकार आयोगले समेत सचेत गराएको छ ।
नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो भनेर नेपाल राष्ट्र एकताका सूत्रधार पृथ्वीनारायण शाहले व्यक्त गरेको विचार आज पनि उत्तिकै सान्दर्भिक रहिआएको छ । जाति–जातिबीच युद्ध सल्काएर मौकाको गलत फाइदा उठाउने तत्वहरु सक्रिय रहेकै कारण कैलालीको टीकापुर घटना घटेको सर्वत्र चर्चा छ । जातीय आन्दोलनको आगो सल्काउनेहरुले राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्न नसकेकै कारण उक्त दुःखद् घटना हुन पुगेको थियो । जातीय आन्दोलनले निम्त्याएको उक्त घटनामा संलग्न जो भए पनि राज्यले माफी दिन हुँदैन । कानुनी राज्यको अवधारणाअनुरुप हत्यारालाई सजाय हुनैपर्छ ।



कमेन्टसहरु




2332571 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top