Sajhakura Dainik - समृद्धिका लागि गुरुयोजना
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

समृद्धिका लागि गुरुयोजना


हाम्रो कुरा 70 पटक पढिएको


देशका ३ वटा प्रदेशका ३४ जिल्लामा पहिलो चरणमा २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणमा भएको निर्वाचनको अधिकांश स्थानीय तहको मतपरिणाम आइसकेका छन् ।
मकवानपुर जिल्लामा पनि ८ गाउँपालिका र एउटा नगरपालिकाको मतपरिणाम आइसकेको छ भने हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मत परिणामसँगै आ–आफ्नो स्थानीय तहमा विजयी जनप्रतिनिधहरुले सपथग्रहण गरी कार्यभार सम्हाल्ने तरखर गरिरहेका छन् । संघीयतालाई कार्यान्वयन गर्ने उद्देश्यले पुनर्संरचना गरिएपछिको अधिकारसम्पन्न स्थानीय तहले पहिलोपटक जनप्रतिनिधि पाउँदैछ । विगतमा झण्डै १५ वर्षसम्म कर्मचारीबाट चलेको स्थानीय निकाय स्थानीय तह बनेसँगै जनप्रतिनिधिको हातमा जाँदैछ । यसले जनप्रतिनिधिलाई अवसर र चुनौती दुबै सृजना गरेको छ । अवसरको सदुपयोग गर्न जनप्रतिनिधिहरुले ठोस योजनाका साथ अघि बढ्नु आवश्यक देखिन्छ ।
सिंहदरबारको अधिकार गाउँघरमा आएको भन्दै अत्यन्तै उत्साहका साथ निर्वाचनमा भाग लिएका राजनीतिक दलका लागि ती अधिकारहरुको सार्थक कार्यान्वयन गर्नु ठूलो चुनौती बन्नेछ । निर्वाचनको प्रचारप्रसारका क्रममा सबैजसो उम्मेदवारले आ–आफ्ना स्थानीय तहलाई समृद्ध बनाउने उद्घोष गरेका थिए । मकवानपुर जिल्लाकै उदाहरण हेर्ने हो भने ‘समृद्ध बकैया’, ‘समृद्ध मनहरी’, ‘समृद्ध भीमफेदी’जस्ता नाराहरु चुनावको बेलामा खुबै उठाइएका छन् । अब स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आफ्नो तहलाई समृद्ध बनाउनु कम्ति चुनौतीपूर्ण हुनेछैन । स्थानीय तहको पुनर्संरचनासँगै स्थानीय सरकार जनप्रतिनिधिको हातमा जानु ठूलो अवसर हो । स्थानीय तह पुनर्संचना हुने तर कर्मचारीतन्त्रले नै स्थानीय सरकार चलाउने स्थिति रहेको भए परिवर्तन सहज हुने थिएन । अर्कोतिर नयाँ जनप्रतिनिधि आउने, तर पुरानै स्थानीय निकाय रहेको भए पनि खासै परिवर्तनको अनुभूति हुने थिएन । तर, अहिले स्थानीय तहको पुनर्संरचनासँगै स्थानीय सरकारले नयाँ जनप्रतिनिधि पाएको अवस्थामा आम नेपालीमा परिवर्तनको अनुभूति गराएको छ । यसले नेपाली नागरिकमा ठूलो उत्साह पैदा गरेको छ । नागरिकको उत्साहलाई मर्न नदिई नवनिर्वाचित जनप्रतिनिधिले स्पष्ट र प्रभावकारी गुरुयोजना बनाई आ–आफ्नो स्थानीय निकायलाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्नु हुन्न ।
संविधानले नै ग्यारेन्टी गरेको स्थानीय तहले प्रयोग गर्ने २२ वटा अधिकार र संघ तथा प्रदेशसँग मिलेर प्रयोग गर्ने १५ वटा अधिकार छन् । संविधानमै उल्लेख भएर यति धेरै अधिकार पाउनु सामान्य कुरा होइन । तर, यसलाई कार्यान्वयन गर्नु चुनौती बन्नसक्छ । जनप्रतिनिधिका लागि सर्वप्रथम गाउँ वा नगरपालिका र वडाहरुको भौतिक संरचना निर्माण गर्नु महत्वपूर्ण कार्यभार हुनेछ । साथै संविधानले तोकेका अधिकार स्थानीय तहबाटै प्रदान गर्न स्वास्थ्य, शिक्षा, कृषि, यातायात, राजश्व, वाणिज्य, सुरक्षालगायत धेरै सरकारी कार्यालय स्थापना गर्नुपर्नेछ । यस्तै विभिन्न विकास निर्माणको काम पनि सँगसँगै अघि बढाउनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्पष्ट गुरुयोजना बनाई कार्यान्वयनमा जुट्नु आवश्यक छ ।



कमेन्टसहरु




2292508 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top