Sajhakura Dainik - दोस्रो निर्वाचनको चिन्ता
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
हाम्रो कुरा

दोस्रो निर्वाचनको चिन्ता


हाम्रो कुरा 10 पटक पढिएको


स्थानीय तहको पहिलो चरणको निर्वाचन आशातित शान्त र सफल भयो । निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये अधिकांश ठाउँको परिणाम सार्वजनिक भइसकेका छन् ।
 काठमाडौं र भरतपुर महानगरपालिकामा भने मतगणना अझै केही दिन लाग्ने देखिन्छ । निर्वाचन सम्पन्न भएर मतगणनाको परिणाम सार्वजनिक भएसँगै स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । जनप्रतिनिधिहरुले सपथग्रहण र पदभार ग्रहण गरिरहेका
छन् । पन्ध्र वर्षसम्म जनप्रतिनिधिविहीन रहेका स्थानीय तहले जनप्रतिनिधि पाउनु निश्चय नै खुशीको क्षण हो । लोकतन्त्रको आधार र जनताको नजिकको सरकार मानिने स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा जनताले भोगेको पीडा अब विस्तारै कम हुँदै जानेछ । तर, अधिकारसम्पन्न स्थानीय सरकारको अभ्यास भने नेपाल र नेपालीको लागि नौलो नै छ ।
पहिलो चरणको निर्वाचनबाट तीन प्रदेशका ३४ जिल्लामा जनप्रतिनिधि चयन भएका छन् । निर्वाचन भएको २ सय ८३ स्थानीय तहमध्ये अब केही स्थानको मात्र नतिजा आउन बाँकी छ, यो पनि चाँडै आउने छ । पहिलो चरणको स्थानीय तह निर्वाचन सफल भएको छ । यसले संविधान कार्यान्वयनको ढोका खोलेको छ भने स्थानीय चुनाव नै हुँदैन कि भन्ने धेरैको अनुमान गलत सावित भएकोरु छ । राजनीतिकरुपमा कोही अगाडि र कोही पछाडि हुनु स्वाभाविक नै हो । जीत हारका हिसाबले कोही अघि गएका होलान्, कोही पछाडि परेका होलान्, तर संविधान कार्यान्वयनका लागि मुलुक अगाडि गएको छ, यही नै ठूलो उपलब्धि हो । अब चारवटा प्रदेशमा रहेका ४१ जिल्लामा निर्वाचन हुन बाँकी छ, जुन जेठ ३१ गतेका लागि तोकिएको छ । साविक चार सय ६१ तहमा चुनाव हुन बाँकी भएको भए पनि सरकारले २२ वटा स्थानीय तह थप गरेको रकतिपय तहको सिमाना हेरफेरसमेत गरेको हुँदा तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गराउन समस्या आउने निर्वाचन आयोगले नै बताइरहेको छ । पहिलो चरणमा तराईसँग नजोडिएका प्रदेशमा मात्र चुनाव गरिएको थियो भने अब दोस्रो चरणमा तराईसँग जोडिएका प्रदेशमा चुनाव हुँदैछ । सामान्य अवस्थामा पनि भौगोलिक स्थिति प्रतिकूल हो भने अहिले तराई मधेश शान्त नभइसकेको अवस्थामा चुनाव गराउन चुनौतीपूर्ण देखिन्छ ।
दोस्रो चरणको चुनावको मुख्य चुनौती भनेका मधेशी दलहरु नै हुन् । केही मधेशी दल पहिलो चरणको चुनावमै सहभागी भइसकेका छन् भने बाँकी मधेशी दललाई यो चुनावमा सहभागी गराउनुपर्नेछ । उनीहरुले चुनावअघि संविधान संशोधन गर्नुपर्ने र मधेशमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग राखेका छन् । प्रतिपक्ष एमालेले यसलाई ठाडै अस्वीकार गरेको छ । सहमति जुट्छ भने मधेशी दलले अघि सारेको मागमा छलफल नै गर्नुहुँदैन भन्ने होइन तर मधेशी दलले यही मागलाई शर्तको रुपमा अघि सार्नुहुँदैन । पहिलो चरणको चुनावले मोटामोटीरुपमा एमालेलाई अग्रता दिएको छ । यसको राजनीतिक अर्थ लगाउने हो भने धेरै मतदाता मधेशी दलहरुको गतिविधिप्रति बेखुश देखिन्छन् । त्यसो त मधेशी दललाई बढी नै महत्व दिने सत्तारुढ दललाई पनि मतदाताले असन्तुष्टि जनाउन खोजेको देखिन्छ । निर्धारित समयमै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने र त्यसमा सक्रिय सहभागिता देखाएर मधेशी दलले सहयोग गर्नु आवश्यक छ ।



कमेन्टसहरु




2292569 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top