Sajhakura Dainik - शिक्षक व्यवस्थापनमा अधिकारसम्पन्न शिक्षक सेवा आयोग हुनुपर्ने
तपाई, हामी, सवैकोकुरा, राष्ट्रिय दैनिक साझाकुरा
बिचार

शिक्षक व्यवस्थापनमा अधिकारसम्पन्न शिक्षक सेवा आयोग हुनुपर्ने


बिचार 36 पटक पढिएको


रमेशप्रसाद लामिछाने शैक्षिक क्षेत्र आलोच्य बन्नुका कारण धेरै हुन सक्छन् । तीमध्ये शिक्षक नियुक्ति एउटा प्रमुख कारण स्वीकार्नैपर्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्मकै सन्दर्भलाई नियाल्दा हामी शिक्षक नियुक्तिकै विषयमा बढी चर्चा पाउँछौं ।

 यो शीर्षकमा धेरै आन्दोलन भएका छन् । पैसाको चलखेलले व्यापकता यसैमा पाएको छ । समयमा शिक्षक सेवा आयोगले विज्ञापन गरेर नतिजा दिन नसक्नुको कारणले शिक्षण संस्थामा शिक्षकको स्थान पूरा गर्न कुनै उपाय खोज्ने संस्कार बन्यो । यो तरिका वैज्ञानिक भएन । भनसुन, राजनीति, पैसा, नातागोता आदिको प्रभावमा अस्थायी, सट्टा, लियन, राहतलगायतका दर्जनौं प्रकारका शिक्षक नियुक्त भए । यसको अर्थ राम्रा, क्षमतावान, योग्य, दक्ष शिक्षकमा नआएको भन्न खोजिएको होइन । तर, धेरै नियुक्तिका मामिलामा स्वच्छ र योग्य छनौट प्रक्रिया संकटमा परेको तथ्य छोप्न मिल्दैन । सत्य कतै तीतो हुँदैमा हामी भाग्नु पर्दैन । मुख्य सवाल यही शिक्षक नियुक्तिको सवाललाई शैक्षिक स्तरीयतासँग जोडेर विश्लेषण गर्ने गरेको पाइन्छ ।

विगतमा भनसुनबाटै शिक्षक बन्ने बनाउने अनि छ महिनापछि स्वतः स्थायी हुने भन्दै शिक्षक नियुक्ति गरियो । तीसको दशकमा यस्तै विधि रहेको पाइन्छ । चालीसको दशकमा दुईवटा विज्ञापन गरियो । शिक्षक सेवा आयोगले एक दशकमा दुईपटक विज्ञापन गरेर सिफारिस गरेका शिक्षकबाट मात्र आवश्यकता कसरी पूरा हुने भन्ने तथ्य सबैसामु छर्लङ्ग छ । पचासको दशकमा एकपटक विज्ञापन गरियो । यसले के स्पष्ट गर्दछ भने सरकार स्वयम् शिक्षक नियुक्तिलाई विवादमा ल्याउन चाहन्छ । सरकारी शिक्षालाई कमजोर आलोच्य बनाउन लाग्ने शैक्षिक माफिया नै सरकारमा पुगे, समस्या हल गर्न होइन, समस्या थप्न र झन बल्झाउन प्रयत्नशील रहेकै हुन् ।

शिक्षकले शिक्षा सेवा आयोग संवैधानिक हुनपर्छ भनेर माग गर्दा कानमा बतास लागेन । आज सडकमा पाँच लाखभन्दा बढी लाइसेन्स लिएर शिक्षक बन्न आतुर जनशक्तिलाई अझ अवसर दिने र प्रतिस्पर्धात्मक परीक्षाको व्यवस्था नियमित सञ्चालन गर्ने कुनै तत्परता देखाइएको छैन । हामी निजामती सेवामा जस्तो लोकसेवा आयोगले नियमित परीक्षा लिएर दक्ष र योग्य शिक्षक छनौट गरोस् भन्ने चाहन्छौं । यसो गर्दा शिक्षण संस्थामा दर्जनौं प्रकारका शिक्षक नियुक्ति आफैं बन्द हुन्छ । स्थायी नियुक्ति बुझेरमात्र शिक्षक कक्षाकोठामा प्रवेश गर्दछन् । सबै शिक्षक एकै प्रकारको स्थायीमात्र हुनेछन्। यसलाई उपयुक्त र स्वच्छ विधिबाट सञ्चालन गर्ने हो भने स्वतः शिक्षक व्यवस्थापन सहज बन्छ नै, सँगै शैक्षिक स्तरीयताले अग्रगति लिन्छ ।

एक वर्षमा आवश्यक पर्ने तहगत र विषयगत शिक्षकको रिक्त र जगेडा संख्यालाई आधार बनाएर विज्ञापन गर्न सकिन्छ । वेटिङ लिष्टको प्रतिशतलाई केही बढाएर प्रकाशन गर्दा पनि नराम्रो हुँदैन । तथ्याङ्कको आँकलन भने हचुवा भरमा होइन, वास्तविक अवस्थाबाट संकलन गर्नुपर्छ । हुन त शिक्षक सेवा आयोगलाई प्रदेशस्तरमा व्यवस्थापन गर्ने चर्चा आएको छ, तर विधिवत व्यवस्था नभएसम्म यो पनि अन्यौलमा नै छ । प्रदेशस्तरका शिक्षक सेवा आयोगबाट विज्ञापन गरी कम्तिमा एक वर्षमा एकपटक शिक्षक छनौट गरी प्रतीक्षा सूचीमा उम्मेदवार राख्ने काम थप प्रभावकारी बन्न 

सक्छ । विद्यालयमा शिक्षक आवश्यक पर्नेवित्तिकै प्रतीक्षा सूचीका उम्मेदवारसँग सम्पर्क गरी तत्काल अभाव हल गर्न सकिन्छ । यसले शैक्षिक क्षति कम हुन्छ नै, सँगै स्कूलमा गरिने अनावश्यक विधिसमेत हटाउन सहज बन्दछ । सँगै यो सूचीले समेत हल गर्न नसकेको अवस्थामा के गर्ने भन्ने सवाल उठ्न सक्छ । यसका लागि शिक्षक सेवा आयोगकै अनुसरण गरेर उस्तै विधि र प्रक्रियाबाट शिक्षक छनौट गर्न स्थानीय तहमा अधिकारसम्पन्न आयोग गठन गरेर शिक्षक छनौट गर्ने व्यवस्था राम्रो हुन्छ । यो काम स्कूलमा दिएर अनावश्यक चलखेल र प्रभावित पार्ने काम शैक्षिक विकृति नै हो ।

यसरी शिक्षक छनौट समितिले छनौट प्रक्रियामा जाँदा वर्षमा एकपटक अझ शैक्षिक सत्रको अन्तिम महिनामा शिक्षक परीक्षा सञ्चालन गर्नु उत्तम हुन्छ । प्रतीक्षा सूचीका उम्मेदवारको अवधि तोकिनुपर्छ र यो कम्तिमा एक वर्षका लागि आवश्यक पर्दा ती उत्तीर्ण शिक्षक उपयुक्त स्थानमा नियुक्ति लिन सक्छन् । शिक्षक परीक्षाको उत्तीर्णाङ्क भनेर पूर्णाङ्कको साठी प्रतिशत अङ्क ल्याउनैपर्ने प्रावधान राख्नुपर्छ । मुस्किलले चालीस प्रतिशत अङ्क ल्याउने उम्मेदवारबाट शैक्षिक स्तरीयताको अपेक्षा कमै गर्न सकिन्छ । शिक्षक सेवा आयोग वा सोही प्रकृतिको स्थानीय तहको शिक्षक छनौट सेवा आयोगबाट मात्र शिक्षक नियुक्ति गर्ने र यस्ता शिक्षक नियुक्ति बुझेपछि तोकिएका एक शैक्षिक सत्रपश्चात् स्वतः स्थायी हुने विधि राम्रो बन्नसक्छ । एक शैक्षिक सत्रको परीक्षण अवधिमा अपेक्षित नतिजा प्राप्त गर्न नसक्ने सम्बन्धित विद्यालयले अर्को विकल्पमा जान सक्छ ।

त्यसैगरी उच्च शिक्षामा समेत रहेको शिक्षक व्यवस्थापनको भद्रगोल अवस्थालाई विश्वविद्यालय सेवा आयोगमार्फत् हल गर्न सकिन्छ । यो तहको आयोग भने संघीय र प्रदेश तहमा मात्र कायम गर्न सकिन्छ । उस्तै विधि र प्रक्रिया गरी शिक्षक छनौट गरेपछि प्रतीक्षा सूची प्रकाशन गर्ने र उक्त सूची हरेक शिक्षण संस्थाको लागि उपलब्ध गराउने सँगै नियुक्ति लिँदै गएपछि बाँकी उम्मेदवारको विवरण वेभसाइटमा राखी अपडेट गर्दै जाने व्यवस्था राम्रो हुन्छ । यसो गर्दा विद्यमान अवस्थामा समस्याग्रस्त रहेको करार, लियन, अस्थायीजस्ता शिक्षकका प्रकार अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।

अन्त्यमा, शिक्षक छनौटको अंग र प्रक्रियाबारे ज्यादा श्रम र समयको खर्च भएको विगत हामीले भुल्नु हुँदैन । शिक्षक सेवा आयोगको गठन र यसको कार्य प्रगतिमा प्रत्यक्ष अप्रत्यक्ष सरकारी हस्तक्षेपले शिक्षक छनौट प्रक्रिया व्यवस्थित र प्रभावकारी बन्न नसकेको तथ्य अर्को महत्वपूर्ण पक्ष हो । आजको परिवर्तित सन्दर्भ र संरचनामा संघीय र प्रदेशस्तरसँगै स्थानीय तहमा अधिकारसम्पन्न शिक्षक सेवा आयोग गठन गरी शिक्षा क्षेत्रको जनशक्ति व्यवस्थापन गर्न सकिन्छ । उच्च शिक्षा अर्थात् विश्वविद्यालयस्तरमा शिक्षक व्यवस्थाप गर्न संघीय अर्थात् केन्द्रीय स्तरमा र विद्यालय तहको शिक्षक पदपूर्तिका लागि प्रदेश र स्थानीय तहमा शिक्षक सेवा आयोग क्रियाशील गराउन सकिन्छ । यो जिम्मेवार पक्ष र अङ्गको गम्भीर ध्यानाकर्षण हुनैपर्ने विषय हो ।

शिक्षामा स्तरीकरण र विद्यमान दर्जनौं प्रकारका शिक्षकहरुको निकासको एकमात्र उपाय शिक्षक सेवा आयोगको काम कारबाही नै हो । शिक्षा सेवालाई संवैधानिक अङ्ग बनाएर यो छनौट आयोग एउटा निकाय बन्न सक्छ । यहाँ विषयको गम्भीरता र राजनीतिक पार्टीहरुको इच्छाशक्ति प्रधान महत्व देखिन्छ । यसै आयोगद्वारा शिक्षकको नियुक्ति र प्रमोशन सँगै लाइसेन्सको समेत परीक्षा सञ्चालन गर्न सकिन्छ । परीक्षाको पारदर्शिता र स्तरलाई सार्क राष्ट्रको अभ्यास र संघीय देशहरुमा शिक्षक व्यवस्थापन गर्न अपनाइएका विधि प्रक्रिया अपनाउन पनि सहज हुन्छ र सहयोग पनि पुग्छ । यसरी छनौट भएका शिक्षकलाई सरकारी शिक्षण संस्थामा मात्र होइन, आवश्यकताअनुसार निजी तथा संस्थागत स्कूल, कलेजमा समेत यी आयोगका प्रतीक्षा सूचीका उम्मेदवारलाई प्राथमिकता दिनु थप उपयुक्त हुन्छ । यसरी विधिवत शिक्षकलाई पेसागत रुपमा एकै सम्बोधनबाट सम्मान गर्दै शैक्षिक क्षेत्रमा स्तरीकरणको अभ्यासमा अग्रगति कायम हुने अपेक्षा गर्न सकिन्छ ।





कमेन्टसहरु




2332568 Times Visited.
Sajhakura National Daily
Hedambi Chowk, Hetauda -1, Makwanpur, Phone / Fax : 057-521115, http://www.sajhakura.com.np, Email: sajhakura@gmail.com
Sabin Neupane, Publisher/Editor, 9855067337
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © साझाकुरा राष्ट्रिय दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top